लोकल गाईको गोबर–गहुँत हाम्रो समाजको महत्वपूर्ण

रामेछाप – रामेछाप जिल्ला सदरमुकाम मन्थली नगरपालिका आसपासका लोकल गाईको गोबर, गौमूत्र, गहुँत हाम्रो समाजमा आवश्यकताको महत्वपूर्ण आधार भएको पुरोहित विद्वानहरूले बताएका छन् । हजारौँ वर्ष पहिले “गोवो लोकस्य मातरः” भनी हाम्रा ऋषि–मुनिहरूले गहिरो चिन्तनपछि यस्तो घोषणा गर्नुभएको छ । तर आज सुनियोजित ढङ्गले गौवंशको विनाश भइरहेको छ । यो कार्य सम्पूर्ण सृष्टिका लागि अत्यन्त घृणित र विनाशकारी छ । यसबारेमा अहिले नै सचेत भएनौँ भने भविष्यमा पछुताउनु बाहेक केही रहनेछैन ।

गाईको बाछो जन्मिने बित्तिकै “मा” भनेर पुकार्छ । वात्सल्य शब्द गाईबाट आएको हो । वत्सको अर्थ बाछो हो । गाईको आफ्नै बाछोप्रतिको माया असाधारण हुन्छ । गाईले आफ्नो बाछाको रक्षा गर्न आफ्नै ज्यान पनि त्याग्छ तर बाछोलाई हानि हुन दिँदैन ।

गौमाता जल, जंगल, जमिन, जीवसमूह, पर्यावरण, मानव र मूल्य संरक्षणको आधार हो । त्यसैले गौमाताको संरक्षण र प्रवर्द्धन अत्यावश्यक छ ।

जलः अचेल कृषिमा अत्यधिक रासायनिक मल र कीटनाशक प्रयोग गरेर प्रदूषित गरिएको छ । यस कारण आज पानी र वातावरण दुवै विषालु बन्दै गएको छ । पानीबाट बालीमा प्रयोग गरिएको रासायनिक मल र कीटनाशक खोला र पानीका स्रोतमा गएर मिसिन्छ । यसले नदीको पानी विषाक्त र प्रदूषित बनाउँछ । प्रदूषित पानी कृषि उत्पादन र पिउने पानीमा मिसिँदा धेरै रोग निम्त्याउँछ । त्यसैले गाईको गोबर र गहुँतले जमिन शुद्ध गरेर पानीलाई प्रदूषणबाट बचाउन सकिन्छ । धेरै पटक गहुँत खन्याएपछि सुकेका इनारमा पानी आएको उदाहरण पनि छन् ।

कृषि उत्पादनका लागि खेतबारीका लागि खाना गाईको गोबर र गौमूत्र हो । आज किसानलाई आर्थिक भार कम गर्न र दयनीय अवस्थाबाट जोगाउन चाहने हो भने गाईको गोबर र गौमूत्र मलको रूपमा प्रयोग गर्न सिकाउनुपर्छ । यस्तो प्रयोगले जमिनलाई चट्टानी बन्न, बाँझो र विषालु बन्नबाट जोगाउँछ ।

गाईको गोबर, गहुँत र दूध मानिसका लागि अमृत हुन् । हाम्रा पुर्खाले गोबरको प्रयोग गरी हजारौँ वर्षदेखि खेती गर्दै आएका छन् । त्यसको आधार गाई थियो । गाईको गोबर र गहुँतले जमिनलाई उर्वर र सुगन्धित बनाउँछ ।

आज जंगलमा गाई चराउन नपाइने तर्क गरेर गाईलाई चरनबाट विमुख गराइँदै छ । गाईले वन–जंगलमा चर्दा पेटमा धेरै किसिमका बीउ पस्छन् । गाईको गोबरमार्फत जंगलमा बीउ खस्छ र त्यसबाट नयाँ बिरुवाहरू उम्रन्छन् । त्यसैले गौमाताका कारणले वन झन् बढ्छ । त्यसैले जंगल बढाउनका लागि गाई जंगलमा घुम्नैपर्छ ।

बिरुवाका तीन भाग हुन्छन् । तल्लो भाग तामसिक, मध्य भाग राजसी र माथिल्लो भाग सात्त्विक हुन्छ । गाईले घाँस र बुट्यानका माथिल्ला भाग चर्छ, त्यसैले गाई सात्त्विक हुन्छ ।

पशु समूहः जीव समूह पालनमा पनि गौमाताको विशेष महत्व छ । गौमाताको गोबर र गहुँत धेरै जीवले खान्छन् । जसरी सूर्यबाट उज्यालो, वायुदेवताबाट वायु, भगवान् इन्द्रबाट जल र पृथ्वीबाट गन्ध प्राप्त हुन्छ, जीवले त्यसलाई भोग्छन् । गौमाताको गोबर र गौमूत्र वनस्पतिले ग्रहण गर्छन् र वनस्पतिले जीवलाई खाद्यतत्व प्रदान गर्छन् । त्यसैले यहाँ भनिएको छ— “जीव जीवस्य जीवनम्” । त्यसैले गौमाता सम्पूर्ण सृष्टिको जननी हो ।

Scroll to Top