उमातिर्थ धार्मिक पर्यटकीय स्थल विकासमा ओझेल, संरक्षण र व्यवस्थापनको खाँचो

रामेछाप । रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका–१, गुम्देलको उत्तरी क्षेत्रमा अवस्थित उमातिर्थ धार्मिक तथा पर्यटकीय दृष्टिले अत्यन्तै महत्वपूर्ण तिर्थस्थल भए पनि आवश्यक संरक्षण, व्यवस्थापन र पूर्वाधार विकासको अभावमा यसको अस्तित्व संकटमा पर्दै गएको छ ।
नुम्बुर हिमाल (६,९०० मिटर) आसपासका विभिन्न हिमशृङ्खलाबाट निस्कने पानी जम्मा भई बनेका नुप्चे र हिगंगा नदीको संगमस्थलमा अवस्थित उमातिर्थ हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूको साझा पवित्र तिर्थस्थल हो । यही क्षेत्र सप्तकोशी नदी प्रणालीअन्तर्गत पर्ने लिखु नदीको उत्पत्तिस्थल पनि हो । समुद्र सतहबाट २,२४५ मिटर उचाइमा रहेको यस तिर्थस्थललाई ‘उत्तर काशी’ वा ‘उत्तरगया’ का रूपमा पनि चिनिन्छ ।
पौराणिक मान्यताअनुसार हिमालय पर्वतबाट निस्केका पाँच गंगाहरू—आदिगंगा, ब्रह्मगंगा, हिमगंगा, केदारगंगा र कौशिकीगंगाको संगमबाट लिखु नदी बनेको विश्वास छ । शिवपुराण, स्कन्दपुराण, वामनपुराण तथा श्रीस्वस्थानी व्रतकथालगायत १८ पुराणमा उमातिर्थको धार्मिक महत्व वर्णन गरिएको पाइन्छ । हिमालय पर्वतकी पुत्री उमाले शिवमहादेव प्राप्तिका लागि तपस्या गरेको भूमि भएकाले यस स्थानलाई उमातिर्थ भनिएको किम्बदन्ती छ ।
मातातिर्थ औँसी, कुशे औँसी, पौषे औँसी, गाई तिहार औँसी, बालाचतुर्दशी र महाशिवरात्रिका अवसरमा नेपाल तथा भारतका विभिन्न स्थानबाट श्रद्धालुहरू यहाँ स्नान, पूजा तथा पितृश्राद्ध गर्न आउने गर्छन् । विशेषगरी श्राद्ध गरेमा पितृमोक्ष प्राप्त हुने धार्मिक विश्वासका कारण उमातिर्थ लाखौँ श्रद्धालुको आस्थाको केन्द्र बनेको छ ।


तर, करोडौँ रुपैयाँ लगानी भएर पनि मन्दिर तथा संरचना अव्यवस्थित बनेका छन् । श्राद्धपछिको पिण्ड विसर्जनका लागि आवश्यक पानी व्यवस्थापन नहुँदा दुर्गन्ध फैलिने, वातावरणीय समस्या र स्वास्थ्य जोखिम बढ्ने गरेको स्थानीयको गुनासो छ । संघ, प्रदेश र स्थानीय सरकारको पर्याप्त ध्यान नपुगेको भन्दै स्थानीयवासी, बुद्धिजीवी, पत्रकार तथा नागरिक समाजले चिन्ता व्यक्त गरेका छन् ।
पर्यटकीय दृष्टिले पनि उमातिर्थ अत्यन्तै सम्भावनायुक्त क्षेत्र हो । रामेछाप–सेर्दिङ–गुम्देल–उमातिर्थ–सोलुखुम्बु दुधकुण्ड, मन्थली–बाम्तीभण्डार–गुम्देल–उमातिर्थ र जनकपुर–सिन्धुलीगढी–रामेछाप हुँदै उमातिर्थसम्म जोडिने विभिन्न धार्मिक तथा ट्रेकिङ पदमार्गहरू रहेका छन् । साथै, यो क्षेत्र गौरीशंकर संरक्षण क्षेत्रभित्र पर्ने भएकाले यहाँ दुर्लभ वन्यजन्तु, जडीबुटी, हिमाली वनस्पति र जैविक विविधता पाइन्छ ।
यद्यपि तिर्थालु तथा पर्यटकका लागि आवास, सरसफाइ, सुरक्षित पदमार्ग र सूचना केन्द्रजस्ता आधारभूत पूर्वाधारको अभावले पर्यटन विकास अपेक्षित रूपमा अघि बढ्न सकेको छैन । स्थानीय सरोकारवालाहरूले उमातिर्थलाई धार्मिक, सांस्कृतिक र प्राकृतिक पर्यटनको केन्द्रका रूपमा विकास गर्न दीर्घकालीन योजना, संरक्षण र प्रभावकारी व्यवस्थापन आवश्यक रहेको बताएका छन् ।

Scroll to Top