रामेछाप । रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नं. १ घारीस्थित “समृद्ध नेपाल निर्माणका लागि सबल श्रमजीवी पत्रकार स्वतन्त्रता र व्यावसायिक पत्रकारिता प्रेस चौतारीको आधार” प्रेस चौतारी नेपाल जिल्ला कमिटी रामेछापको आयोजनामा २८ औँ स्थापना दिवस अवसरमा चौतारी विशेष पत्रकारिता पुरस्कार वितरण कार्यक्रम गरेको हो । प्रेस चौतारी नेपाल रामेछापले पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार घोषणा गरेको छ । प्रेस चौतारी नेपालको २८ औँ स्थापना दिवसको अवसरमा सदरमुकाम मन्थलीमा शनिबार आयोजित स्थापना दिवसमा पुरस्कार सार्वजनिक गरिएको हो ।
कार्यक्रममा प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य वराज पथिकले पुरस्कारको औपचारिक घोषणा गर्दै यसको उद्देश्य र महत्वबारे प्रकाश पारे । उनले पत्रकारलाई जिम्मेवार, जनमुखी र पेशागत मर्यादायुक्त बनाउन यस्ता सम्मानले सकारात्मक भूमिका खेल्ने बताए । उनका अनुसार उक्त पुरस्कार नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य समाजसेवी रत्न प्रसाद गौतमले यस पुरस्कार एक वर्षका लागि १ लाख र पाँच वर्षका लागि ५ लाख दिने गरी सहयोग गर्ने प्रतिबद्धता गरेका छन् ।
त्यसैगरी प्रेस चौतारी नेपाल जिल्ला कमिटीका लेक बहादुर विश्वकर्माको अध्यक्षतामा यस कार्यक्रमका प्रमुख अतिथि आनन्द कुमार श्रेष्ठको प्रमुख आतिथ्यमा विशेष अतिथि प्रेस चौतारी नेपालका महासचिव हिरामान लामा रहेका थिए । यसै कार्यक्रममा बोल्दै रामेछाप शाखाले स्थापना गरेको यो पुरस्कारले पत्रकारिताको गरिमामय अभिवृद्धि गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे । उनले नयाँ पुस्ताका पत्रकारलाई पेशागत रूपमा उत्प्रेरणा दिने र पत्रकारितालाई रूपान्तरणको सशक्त माध्यमका आधारमा स्थापित गर्न सहयोग मिल्ने बताए ।
नेकपा एमाले अध्यक्ष पुरुषोत्तम कडेरिया, मन्थली नगरपालिकाका मेयर लव श्रेष्ठ, बागमती प्रदेश फोनिज अध्यक्ष युवराज श्रेष्ठ, पत्रकार महासंघ जिल्ला शाखाका दिपक घिमिरे, पूर्व पत्रकार महासंघका अध्यक्ष हिमाल ढुङ्गेल, प्रेस युनियन, प्रेस सेन्टर र समाजवादी संयुक्त लगायतका वक्ताहरूले शुभकामना व्यक्त गर्नु भएको थियो । उक्त कार्यक्रममा २०,००० (बीस हजार) का दरले नवराज श्रेष्ठलाई २८ औँ स्थापना दिवस तथा चौतारी विशेष पत्रकारिता पुरस्कार वितरण गरेको छ ।












