रामेछाप । गौतम समाज जिल्ला कार्यसमिति रामेछापको आयोजनामा दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । मंसिर २७ गते दोरम्बा शैलुङ गाउँपालिका र सुनापति गाउँपालिका–१ गुन्सी (वोझीनिमा) मा सम्पन्न साधारण सभामा विभिन्न जिल्लाबाट बसाइँसराइ गरी रामेछाप पुगेका गौतम समुदायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
र्यक्रममा गौतम समाजका केन्द्रीय सचिव दामोदरप्रसाद गौतम प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो । विशेष अतिथिका रूपमा मञ्जु भण्डारी र रञ्जु पौडेल रहनुभएको थियो भने चित्र गौतम, रिता गौतम, गणेशप्रसाद गौतम, आत्मलाल गौतमलगायतको उपस्थिति रहेको थियो ।
प्रमुख अतिथि गौतमले गोठधुप, कुलपूजा र दिवाली परम्परागत समय र परिवेशअनुसार प्रकृतिसँग मेल खाने गरी सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले वंशावली संरक्षण र स्पष्टताका विषयमा पनि समुदाय सचेत हुनुपर्ने धारणा राख्नुभयो ।
साधारण सभामा ऋग्वेद प्रपन्नाचार्य टंकनाथ गौतमले कार्यपत्र प्रस्तुत गर्दै दिवाली दुई प्रकारका हुने जानकारी दिनुभयो । उहाँका अनुसार उँधौली पर्वअन्तर्गत धान्यपूर्णिमा, लक्ष्मी पूजा, गैडु पूजा, दत्तात्रेय जयन्ती तथा उर्भाली पर्वअन्तर्गत चण्डीपूर्णिमा, बुद्ध जयन्ती, कुर्म जयन्ती र गोरखनाथ जयन्तीका अवसरमा गोठधुप, कुलपूजा र दिवाली मनाउने परम्परा रहेको छ ।
कार्यक्रममा खोज तथा अनुसन्धानमा योगदान पुर्याउने भवानीप्रसाद गौतम, खेमलाल गौतमलगायतको टोलीलाई धन्यवाद तथा बधाई दिइयो । साथै आउँदो २०८३ कार्तिक १८ गते सुनकोशी क्षेत्रमा विश्वामित्र गायत्री पादुर्भाव दिवसका अवसरमा ३३ वटै केन्द्रिय समितिसँग अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने निर्णयसमेत गरिएको जानकारी दिइयो ।
साधारण सभाका लागि दोरम्बा शैलुङ गाउँपालिकाका शिक्षा शाखा प्रमुख नेत्रप्रसाद गौतमले ५ हजार रुपैयाँ, रामेछाप नगरपालिकाका प्रवक्ता तथा वडा नं. ७ का अध्यक्ष समीर कार्कीले ४ हजार रुपैयाँ, प्रमुख प्रशासकीय अधिकृत भोला प्रसाद चापागाईंले २ हजार रुपैयाँ र कोरियाबाट जगदीश गौतमले २ हजार रुपैयाँ सहयोग गर्नुभएको थियो । कुल १३ हजार रुपैयाँ सहयोग प्राप्त भएकोमा आयोजकले सहयोगदातालाई धन्यवाद व्यक्त गरेको छ ।
कार्यक्रममा हिरामणि गौतम (प्रथम उपाध्यक्ष) ले स्वागत मन्तव्यसहित कार्यक्रम सञ्चालन गर्नुभयो भने रिता गौतमले दिवालीमा पशु बलि नदिई नारिवल, खिर, फलफूल अर्पण गर्ने परम्परा अपनाउनुपर्ने सुझावसहित शुभकामना मन्तव्य व्यक्त गर्नुभयो ।
गौतम समाज जिल्ला कार्यसमितिका अध्यक्ष ऋग्वेद प्रपन्नाचार्य टंकनाथ गौतमले सभाको औपचारिक समापन गर्नुभएको थियो ।












