रामेछाप । रामेछाप जिल्लाका दोरम्बा शैलुङ, उमाकुण्ड र गोकुलगंगा गाउँपालिकाका उच्च पहाडी भूभागमा आलु खेतीको विस्तारसँगै उत्पादन र बिक्री वितरण उल्लेख्य रूपमा बढ्दै गएको छ । चिसो मौसम र मलिलो माटो अनुकूल भएकाले यी क्षेत्रहरू आलु खेतीका लागि उपयुक्त मानिन्छन् ।
आलु बहुउपयोगी कन्दमूल तरकारी बालीका रूपमा विश्वभर प्रयोग हुँदै आएको छ । पोषक र ऊर्जादायी खाद्यका रूपमा परिचित आलुमा करिब २० प्रतिशत स्टार्च, २ प्रतिशत प्रोटिन, १ प्रतिशत खनिज पदार्थ र ८० प्रतिशत पानी पाइन्छ । मध्यम आकारको एउटा आलुमा करिब ११२ क्यालोरी ऊर्जा रहने कृषि विज्ञहरू बताउँछन् ।
दोरम्बा शैलुङ गाउँपालिकाका डाँडुवा, दोरम्बा, टोकरपुर र गौश्वरा वडाहरूमा माटो र मौसमअनुसार आलु खेती हुँदै आएको छ । यस्तै, गोकुलगंगा गाउँपालिकाका चुचुरे, ठोसे, रस्नालु, बेताली, नामाडी र फर्पु वडामा समेत आलु खेती विस्तार गरिएको छ । उमाकुण्ड गाउँपालिकाका गुम्देल, बाम्तीभण्डार, कुबुकास्थली, प्रीती, गुप्तेश्वर र भुजी वडामा पनि किसानहरू व्यवसायिक आलु खेतीतर्फ आकर्षित हुँदै गएका छन् ।
चिसो मौसममा राम्रोसँग फस्टाउने आलु चिस्यानमुक्त र मलिलो माटोमा राम्रो उत्पादन दिने बाली हो । रामेछापमा उत्पादित आलु तराई, भित्री मधेश र मध्य पहाडी क्षेत्रमा तरकारीका रूपमा प्रयोग हुने गरेको छ भने उच्च पहाडी क्षेत्रमा खाद्यान्न र तरकारी दुवै रूपमा उपयोग हुँदै आएको छ । सस्तो र सर्वसुलभ भएकाले आलुलाई ‘गरिबको साथी’ का रूपमा समेत चिनिन्छ ।
रामेछापका उच्च पहाडी क्षेत्रमा कुफ्री, ज्योति, जनकदेव, खुमल सेतो–१ र खुमल लक्ष्मीजस्ता उन्नत जातका आलु उत्पादन हुँदै आएका छन् । स्थानीय तह र कृषि प्राविधिकको सहयोगमा रोग व्यवस्थापन, उन्नत बीउ प्रयोग र आधुनिक खेती प्रविधि अपनाउन थालेपछि उत्पादन बढेको किसानहरूको भनाइ छ ।
आलु खेतीबाट आम्दानी बढ्न थालेसँगै सेर्दिङ र शैलुङ क्षेत्रका किसानहरू व्यावसायिक कृषितर्फ उत्साहित देखिएका छन् ।












