सदरमुकाम मन्थली पौष ४ गते बुधवार रामनारायण चोकमा जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापको मन्थली नगरपालिका १ मा निर्माण हुने भवनको प्रहरी निरीक्षक शैलेन्द्र खड्काले शिलान्यास गरेका छन् । कुल ३ करोड ८ लाख ४ हजार ३ सय ४४ रुपैयाँको लागतमा निर्माण हुने अढाई तला उक्त सुविधा सम्पन्न भवन आगामी एक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक होम बहादुर पराजुलीका अनुसार भवन निर्माणका लागि ब्रमायणी÷विरुपाक्ष÷बिजी जेभिसँग निर्माण सम्झौता भएको छ । उक्ता निर्माण व्यवसायीका प्रोप्राइटर कृष्ण थापामगरले बुधवारबाट नै भवन निर्माणको कार्य प्रारम्भ भएको र निर्धारित समयमा नै निर्माण सम्पन्न गरिसक्ने प्रतिबद्धता गरेका छन् । जिल्ला ट्राफिक कार्यालयले गुम्देल देखि गौश्वरासम्म शान्ति सुरक्षा दिएको छ । सानो कटेरोबाट हाल कार्यसम्पादन हुँदै आएको थियो । जिल्लामा ट्राफिक जनशक्ति वृद्धि हुँदै गए पनि भवनको अभावमा बस्ने स्थानको अभाव खेपिरहेको सो कार्यालय अब व्यवस्थित कक्ष र आवाससहितको सुविधा हुने कार्यालय प्रमुख प्रहरी सायक उपरीक्षक दीपक प्रसाद चौलागाईले बताउनु भएको छ ।






