रामेछापः रामेछाप जिल्ला मन्थली सदरमुकाम रामेछाप २०८२ माघ ४ गते दिन मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालको अध्यक्षतामा आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका आचारसंहिता सम्बन्धीमा राजनीतिक दल तथा सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम जिल्ला प्रशासन कार्यालयमा सम्पन्न भएको हो।
श्यामकृष्ण थापा प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भोला कुमार भट्ट, भरत पुरी सेनानी श्रीखड्गदल गण, लक्ष्मण खड्का स.प्र.ना.उ., स.प्रबल नेपाल गुल्म रामेछाप, निर्मल पौडेल प्र.अ., अनुसन्धान जिल्ला कार्यालय रामेछाप, नेपाल पत्रकार महासंघ शाखा अध्यक्ष दीपक घिमिरे, लगायत सञ्चारकर्मी, विभिन्न ६ वटा पार्टीका प्रतिनिधिहरू सहभागी थिए।
निर्वाचन आचारसंहिता भनेको निर्वाचन निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन राजनीतिक दल, उम्मेदवार, सरकार, सरकारी कर्मचारी, सञ्चार माध्यम र मतदाताले पालना गर्नुपर्ने नियम कानुनहरूको समुच्चय हो। यसको मुख्य उद्देश्य शक्ति दुरुपयोग रोक्नु र सबै उम्मेदवारलाई समान अवसर प्रदान गर्नु हो।
त्यसै गरी निर्वाचनमा मतदान स्थल ९६ मतदान केन्द्र २२८ वडा रहेका छन्। थप भएका मतदान केन्द्रहरू उमाकुण्ड ५ मा सरस्वती मा.वि. सुनारधारा, मन्थली ११ मनकामना मा.वि. नाटीला रहेका छन्। घटेका केन्द्र दोरम्बा शैलुङ गाउँपालिका ५ र ७ वडा हुन्। पुरुष संख्या ९६,८९२ महिला संख्या ९१,०६० जम्मा मतदाता संख्या १,८७,९५२ छन्।
निर्वाचन सम्बन्धी जिल्लाका महत्वपूर्ण तथ्याङ्कहरू प्रस्तुतकर्ता नारायण लामिछाने जिल्ला निर्वाचन अधिकारीले जानकारी दिनुभएको हो।
त्यसै गरी कर्मचारी र सुरक्षा निकायले कानुन र आयोगको निर्देशन अनुसार मात्र काम गर्ने, निष्पक्ष र तटस्थ रहनु अनिवार्य रूपमा आचारसंहितामा रहेर काम गर्ने बताएका छन् जिल्ला प्रहरी नायब उपरीक्षक भोला कुमार भट्टले।
उक्त अन्तरक्रिया कार्यक्रममा साना बालबालिका, वृद्धवृद्धा, अपाङ्ग, बहिरा, सुस्तमनस्क लगायतका व्यक्तिहरूलाई यस निर्वाचनमा प्रयोग गर्न नपाइने, वन जंगलमा लुकाइछिपाइ राखिएका हातहतियार सुरक्षामा खटिएका सेना प्रहरीको कमाण्डले जाँचबुझ गर्ने, निष्पक्ष र तटस्थ भई आचारसंहिताको पालना गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले बताउनु भयो।
सो अन्तरक्रिया कार्यक्रममा निर्वाचन आचारसंहिताका मुख्य बुँदामा सरकार र सरकारी निकायका लागि, राजनीतिक दल र उम्मेदवारका लागि, कर्मचारी र सुरक्षा निकायका लागि, सञ्चार माध्यमका लागि, मतदाताका लागि, आचारसंहिता उल्लङ्घनको परिणाम लगायत समेटिएको थियो।
संक्षेपमा भन्नुपर्दा, निर्वाचन आचारसंहिता लोकतन्त्रलाई बलियो बनाउने आधार हो। सबैले यसको पालना गरे मात्र स्वच्छ र विश्वसनीय निर्वाचन सम्भव हुन्छ।
कार्यक्रममा राजनीतिक दल तथा पत्रकारहरूले राखेका जिज्ञासा तथा प्रश्नहरूमाथि मुख्य निर्वाचन अधिकृत तथा न्यायाधीश राजेन्द्र नेपाल र प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले प्रष्ट्याएका थिए। माननीय जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले बताउँदै कार्यक्रम समापन गर्नुभयो।












