कालिका माविमा १७औं सोम प्रसाद ढुंङ्गेल स्मृति अक्षयकोष छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न

रामेछाप । रामेछाप जिल्ला दोरम्बा शैलुङ गाउँपालिकाको वडा नं. ६ लखनपुर रिष्ट्ठेस्थित श्री कालिका माध्यमिक विद्यालयमा आज २०८२ साल पुस २५ गते १७औं सोम प्रसाद ढुंङ्गेल स्मृति अक्षयकोष छात्रवृत्ति वितरण कार्यक्रम गरिमामय सुन्दर वातावरणमा सफलतापूर्वक सम्पन्न भएको छ । कार्यक्रम स्वर्गीय सोम प्रसाद ढुंङ्गेलका भाइ तोयानाथ ढुंङ्गेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि ६ नं. वडा अध्यक्ष टिका प्रसाद गौतम, विशेष अतिथि पूर्व न्यायाधीश श्रीमान् भोलानाथ चौलागाईं, अतिथिहरू विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यसु प्रसाद चौलागाईं, पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरू क्रमशः राम प्रसाद चौलागाईं, अम्बिका प्रसाद गजुरेल, दोरम्बा शैलुङ गाउँपालिका शिक्षा शाखा अधिकृत नेत्र प्रसाद गौतम, अक्षयकोषका सञ्चालकद्वय श्री कोमल प्रसाद ढुंङ्गेल, विदुर प्रसाद ढुंङ्गेल साथै पत्रकारको तर्फबाट उमातिर्थ मिडिया प्रा.लि.का अध्यक्ष तथा उमातिर्थ डटकमका प्रधानसम्पादक एवम् ऋग्वेद प्रपन्नाचार्य टंकनाथ गौतम, अभिभावक, शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

यस अवसरमा विद्यालयमा अध्ययनरत अभिभावकविहीन, विपन्न तथा जेहेन्दार जम्मा १२२ जना विद्यार्थीहरूलाई आर्थिक सहयोग तथा छात्रवृत्ति वितरण गरिएको थियो । आर्थिक अभावका कारण अध्ययनमा कठिनाइ भोगिरहेका विद्यार्थीहरूलाई निरन्तर अध्ययनमा प्रेरित गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रमका वक्ताहरूले सोम प्रसाद ढुंङ्गेल स्मृति अक्षयकोषले विद्यालय र समाजमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै यस प्रकारका अक्षयकोषहरूले गरिब जेहेन्दार विद्यार्थीहरूको भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेलेको बताए । शिक्षा शाखा अधिकृत नेत्र प्रसाद गौतमले शिक्षामा पहुँच विस्तार गर्न यस्ता कार्यक्रमहरू अत्यन्त उपयोगी हुने उल्लेख गर्नुभयो ।

यसै अवसरमा काठमाडौँ नयाँ बानेश्वर चलचित्र व्यवसायी श्री नवीन श्रेष्ठ तथा श्री कालिका मा.वि.का पूर्व विद्यार्थी श्रीमती सङ्गीता तिवारीको विशेष सहयोगमा विद्यालयका उत्कृष्ट विद्यार्थीहरू आशुतोष ठाकुर र जेनी तामाङलाई जनही रु. ३०००/- का दरले विशेष छात्रवृत्ति प्रदान गरिएको थियो । उक्त छात्रवृत्तिले विद्यार्थीहरूलाई अझै मेहनत र उत्कृष्टताका लागि थप हौसला प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ ।

अक्षयकोषका सञ्चालकहरू श्री कोमल प्रसाद ढुंङ्गेल र श्री विदुर प्रसाद ढुंङ्गेलले दिवङ्गत सोम प्रसाद ढुंङ्गेलको स्मृतिमा स्थापना गरिएको यस अक्षयकोषलाई आगामी दिनहरूमा अझै विस्तार गर्दै थप विद्यार्थीहरूलाई सहयोग पुर्‍याउने प्रतिबद्धता व्यक्त गरिएको छ ।

कार्यक्रमको अन्त्यमा विद्यालय परिवारले कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउने सबै अतिथि, दाताहरू, अभिभावकहरू तथा सहभागी सबैलाई धन्यवाद ज्ञापन गरेको थियो । यसरी श्री कालिका माध्यमिक विद्यालयमा आयोजित १७औं सोम प्रसाद ढुंङ्गेल स्मृति अक्षयकोष छात्रवृत्ति वितरण कार्यक्रम शिक्षा, सहयोग र प्रेरणाको सशक्त उदाहरणका रूपमा सफलतापूर्वक सम्पन्न भएको छ ।

Scroll to Top