पत्रकारितामा एआई सहयोगी हो, प्रतिस्थापक होइन : नगरप्रमुख श्रेष्ठ

रामेछाप । मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले सुशासन प्रवर्धनका लागि तथ्यमा आधारित पत्रकारिता अनिवार्य रहेको बताउनुभएको छ । प्रविधि र पत्रकारिताको विकास एक–अर्कासँग गहिरो रूपमा जोडिएको उल्लेख गर्दै उहाँले विगतका आन्दोलन तथा घटनाक्रममा देखिएका र सुनिएका विषयवस्तुलाई आधुनिक प्रविधिको प्रयोगमार्फत प्रभावकारी रूपमा प्रस्तुत गर्न पत्रकारहरूले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।
बागमती प्रदेश सञ्चार रजिष्ट्रार कार्यालयको आयोजना तथा नेपाल पत्रकार महासङ्घ रामेछापको समन्वयमा आयोजित पत्रकारहरूका लागि एआईसम्बन्धी तीनदिने तालिमको समापन कार्यक्रममा बोल्दै नगरप्रमुख श्रेष्ठले जिल्लास्तरमा कार्यरत पत्रकारहरूले पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको कार्यसम्पादन गर्न सक्ने क्षमता विकास गर्नुपर्ने धारणा राख्नुभयो । सही तथ्य सार्वजनिक गर्न सके त्यसलाई कसैले अस्वीकार गर्न नसक्ने उल्लेख गर्दै उहाँले तथ्य र प्रमाणमा आधारित पत्रकारिताले सुशासनलाई थप मजबुत बनाउने बताउनुभयो ।
नगरप्रमुख श्रेष्ठले मन्थली नगरपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी बढाउँदै आएको जानकारी दिँदै वडा तहबाटै अनलाइन प्रणालीमार्फत राजस्व सङ्कलन तथा रिपोर्टिङजस्ता प्रविधिमैत्री अभ्यास सुरु गरिएको बताउनुभयो । पत्रकारहरूसँगको सहकार्यका सन्दर्भमा विगत दुई वर्ष अपेक्षित सहयोग गर्न नसकिएको स्वीकार गर्दै आगामी दिनमा कानुनी प्रक्रिया मिलाएर संस्थागत सहयोग र समन्वय गर्ने प्रतिबद्धता जनाउनुभयो ।
राज्य सञ्चालनमा देखिने कमीकमजोरीका विरुद्ध पत्रकारहरूले निर्भिक रूपमा आवाज उठाउनुपर्ने उल्लेख गर्दै उहाँले नगरपालिकाभित्र आफूले गल्ती गरे कानुनी दायरामा आउन तयार रहेको स्पष्ट पार्नुभयो । भ्रष्टाचार न्यूनीकरण र सेवा प्रवाहमा समानता ल्याउन युवाहरूले उठाएका सुशासनका मुद्दालाई गम्भीरतापूर्वक लिनुपर्ने उहाँको भनाइ छ ।
कार्यक्रममा बागमती प्रदेशका सञ्चार रजिष्ट्रार रेवतीप्रसाद सापकोटाले देश विकासका लागि सबैभन्दा पहिला नागरिकको बौद्धिक क्षमतामा लगानी आवश्यक रहेको बताउनुभयो । कुनै पनि देश नागरिकको ‘ब्रेन’ मा लगानी नगरी समृद्ध हुन नसक्ने उल्लेख गर्दै उहाँले सिंगापुर, दक्षिण कोरिया, चीन र अमेरिकाजस्ता देशहरूले नागरिकको बौद्धिक क्षमतामा लगानी गरेकै कारण विकास हासिल गरेको बताउनुभयो ।
उहाँले पूर्वाधारसँगै नागरिकको बौद्धिक क्षमतामा लगानी गर्नुपर्नेमा जोड दिँदै ज्ञान हस्तान्तरणका उद्देश्यले एआईसम्बन्धी तालिम आयोजना गरिएको जानकारी दिनुभयो । एआईले पत्रकारको पेसा खोस्ने होइन, सहयोग गर्ने स्पष्ट पार्दै इन्टरनेटमा उपलब्ध सूचना सङ्कलन एआईले गर्न सक्ने भए पनि स्थानीय स्तरका घटनाक्रम, तथ्य, फोटो र भिडियो सङ्कलन गर्ने जिम्मेवारी पत्रकारकै हुने बताउनुभयो । पत्रकारिता अब लोकल मात्र नभई ग्लोबल भइसकेको उल्लेख गर्दै उहाँले विश्वसनीयता नै पत्रकारको सबैभन्दा ठूलो सम्पत्ति भएको र तथ्य–सत्य खोज्न फिल्डमै जानुपर्नेमा जोड दिनुभयो ।
रामेछापको सदरमुकाम मन्थलीमा सञ्चालन गरिएको उक्त तालिममा जिल्लाका २७ जनाभन्दा बढी पत्रकारहरूको सहभागिता रहेको थियो । तालिममा पत्रकारितामा एआईको आधारभूत अवधारणा, समाचार सङ्कलन, लेखन, सम्पादन तथा तथ्य जाँचमा एआईको प्रयोगसम्बन्धी सैद्धान्तिक तथा व्यवहारिक अभ्यास गराइएको थियो । साथै एआई प्रयोग गरेर फोटो, भिडियो, अडियो तथा विभिन्न भिजुअल सामग्री तयार गर्ने विषयमा पनि अभ्याससहित प्रशिक्षण दिइएको थियो । तालिमको सहजीकरण गोरखापत्र दैनिकका उपसम्पादक अजय आचार्य र अडियो–भिडियो भिजुअल इन्डलेस सोलुसनका अध्यक्ष शिव पुरीले गर्नुभएको थियो ।

Scroll to Top